सर्वोच्च अदालतले राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्नका लागि आदेश दिएपछि सरकारले परराष्ट्र मन्त्रालयमा हाजिर हुनका लागि निर्देशन दिएका मध्य चार जनाले राजीनामा दिएका छन्।
मन्त्रिपरिषदको बैठकले परराष्ट्र मन्त्रालयमा हाजिर हुनका लागि निर्देश गरेका मध्य बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, चीनका लागि राजदूत कृष्णप्रसाद ओली, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल र अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी राजीनामा दिएका छन्। सरकारले स्वीकृत गर्न बाँकी छ।
सरकारले कात्तिक २० गतेभित्र नेपाल फर्कन भनेका राजदूतमध्ये रसियाका लागि नेपाली राजदूत मात्र स्वास्थ्यका कारण फर्किएका छैनन्।
राजीनामा नदिएका केही राजदूत भने नियमित मन्त्रालय आउने र हाजिर गरेर फर्कने गरेका छन्। केही राजदूतले भने नेपाल फर्किए पनि बिदामा बसेका छन्।
चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत, र जापानका राजदूतलाई फिर्ता बोलाउने निर्णय मन्त्रिपरिषदले गरेको थियो।
सर्वोच्च अदालतले कात्तिक १६ गते राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो। तर सरकारले राजदूतहरूलाई काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा हाजिर हुन भनेको थियो।








































