युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको दक्षिण कोरियाको गुप्तचर निकायले जनाएको छ।
सियोलस्थित नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) का अनुसार यसअघि अप्रिलमा प्रस्तुत गरिएको तथ्याङ्कमा करिब ६ सय सैनिकको मृत्यु भएको अनुमान गरिएको थियो। तर ताजा मूल्याङ्कनअनुसार मृतकको सङ्ख्या दुई हजार नाघेको बताइएको हो। सो तथ्याङ्कबारे सांसद ली सेओङ–क्वेनलाई दिइएको ब्रिफिङपछि यो जानकारी सार्वजनिक गरिएको हो।
एनआइएसका अनुसार उत्तर कोरियाले सन् २०२४ मा १० हजारभन्दा बढी सैनिक रुसमा पठाएको थियो। ती सैनिकहरू मुख्यतया कुर्स्क क्षेत्रमा तैनाथ गरिएका थिए र तोपगोला, क्षेप्यास्त्र तथा लामो दूरीका रकेट प्रणाली सञ्चालन गरेका थिए।
सांसद लीका अनुसार प्योङयाङले थप छ हजार सैनिक र इन्जिनियर रुसमा पठाउने योजना बनाएको छ। तीमध्ये करिब एक हजार हालै रुसमा प्रवेश गरिसकेको एनआइएसको विश्वास छ।
यसअघि रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले पनि उत्तर कोरियाले निर्माणकर्मी तथा विस्फोटक हटाउने प्राविधिकहरू कुर्स्क क्षेत्रमा पठाएको बताएका थिए।
उत्तर कोरियाले अप्रिल २०२५ मा आधिकारिक रूपमा रुसतर्फ सेना पठाएको स्वीकार गरेको थियो। त्यतिबेलादेखि नेता किम जोङ उनले युद्धमा मारिएका सैनिकका परिवारलाई भेट्दै समवेदना व्यक्त गर्दै आएका छन्। राज्य सञ्चालित मिडियाले उनी फर्केका सैनिकलाई अँगालो हाल्दै रोएको दृश्यसमेत प्रसारण गरेको छ।
रुस र उत्तर कोरियाले गत वर्ष राष्ट्रपति भ्लादिमिर पुटिनको दुर्लभ प्योङयाङ भ्रमणका क्रममा आपसी रक्षा र सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए।








































