चर्चित सौन्दर्यविद् सुष्मा महराको नयाँ तीज गीत ‘आयो तीज’ राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ। गायिकाद्वय समीक्षा अधिकारी र रचना रिमालको सुमधुर स्वरमा सजिएको यस गीतमा महराकै मौलिक शब्द, पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेञ्ज रहेको छ।
रोमान्टिक शैलीमा तयार पारिएको ‘डान्सिङ सङ’को रुपमा बजारमा आएको गीतको भिडियो आकर्षक बनेको छ। भिडियोमा गीतकार महरा र प्यारीको अभिनय देख्न सकिन्छ भने निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन्। चक्रबहादर बरालको छायांकन र सतीश श्रेष्ठको सम्पादन रहेको भिडियोमा कोरियोग्राफी रोहिया महर्जनले गरेकी छन्। फेसियल हाउसको निर्माणमा बनेको भिडियो म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक कार्यक्रममा गीतकार महराले गीतका शब्द केवल शब्द मात्र नभई आफ्नो जीवनको प्रतिबिम्ब भएको बताइन्। उनका अनुसार, विगतका अनुभवलाई शब्दमार्फत उतारिएकाले दर्शकले गीत सुनेर उनको जीवन नजिकबाट बुझ्नेछन्। पहिलो तीज गीतमा जस्तै यसपटक पनि दर्शकको माया पाउने विश्वास महराले व्यक्त गरिन्।
संगीतकार न्यौपानेले गीतका मौलिक र मार्मिक शब्दलाई सम्मान गर्दै रोमान्टिक शैलीमा संगीत भरेको बताए। निर्देशक घिमिरेले गीत मौलिक भएकाले नेपाली कला र संस्कृति झल्किने शैलीमा भिडियो निर्माण गरेको उल्लेख गरे।







































