रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ की चाहना प्रधान मिस ग्रान्ड नेपाल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढिरहेकी छन्। प्रतियोगिताको प्रारम्भिक प्रशिक्षण र गतिविधिहरूमा देखिएको उनको आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतिका कारण उनी प्रतियोगिताकी विजेताको पहिलो दावेदारको रूपमा मानिन थालिएकी छन्।
कृषि विषयमा डिप्लोमा अध्ययन पुरा गरेकी चाहना, यस वर्ष रामेछापबाट छनोटमा परेकी एकमात्र प्रतिनिधि हुन्। गाउँको सरल परिवेशबाट उठेर राष्ट्रिय सौन्दर्य प्रतियोगितामा आफ्नो स्थान बनाएकी उनले प्रशिक्षणको पहिलो हप्तादेखि नै निर्णायक र प्रशिक्षकहरुको ध्यान आकर्षण गर्न सफल भएकी छिन्।
बुबा राजु प्रधान र आमा सपना प्रधानकी छोरी चाहना, सामाजिक उत्तरदायित्व बोकेकी, अनुशासित र प्रस्तुतिमैत्री प्रतिभा भएकी युवती हुन्। प्रतियोगिताको पछिल्लो ग्रुमिङ सेसनमा प्रशिक्षक रोजिन शाक्यले समेत चाहनाको प्रगति र समर्पणको खुलेर प्रशंसा गरेको बताइएको छ।
मिस ग्रान्ड नेपालको साउन अन्त्यतिर हुने ग्रान्ड फिनालेमा चाहनाले आफूलाई प्रमाणित गर्ने र उपाधि घर ल्याउने पूर्ण तयारी गरिरहेकी छन्। आयोजक आर.के. इन्टरटेन्मेन्ट ग्रुपका अनुसार, यो वर्षको विजेताले नगद, EV स्कूटर, ‘गुडविल एम्बासडर’को उपाधि, नेपाली चलचित्रमा अभिनय अवसर र अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने विशेष अवसर पाउनेछिन्।
प्रतियोगिताका सुन्दर क्षणहरूमा चाहनाको आत्मबल, सरलता र स्पष्ट अभिव्यक्ति शैलीले उनीलाई मिस ग्रान्ड नेपाल २०२५ को सम्भावित विजेता बनाउने विश्वास धेरैको रहेको छ।







































