गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय भवनको उद्घाटन सोमबार एक विशेष समारोहका बीच सम्पन्न भयो। करिब ३ करोड ४० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन नेपालका पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाई ले गरेका हुन्।
कार्यक्रममा गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईले समेत सम्बोधन गर्दै आफ्नो क्षेत्रमा विकासको गति थप तीव्र बनाउने प्रतिवद्धता जनाए। उनले भने, “विकास केवल संरचना निर्माणमा सीमित हुनुहुँदैन, सेवा प्रवाहमा गुणस्तर र पहुँच बढाउनु आजको आवश्यकता हो। यस भवनले त्यसलाई सुनिश्चित गर्न मद्दत गर्नेछ।” सांसद बजगाईले स्थानीय सरकार र संघीय सरकारबीच सहकार्य अझ बलियो बनाउँदै लैजाने बताए।
उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले नयाँ भवनले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार, भवनमा कार्यालय कोठाहरू, सेवा काउण्टर, बैठक हल, सूचना प्रविधि कक्ष लगायत आवश्यक पूर्वाधारहरू व्यवस्थित रूपमा निर्माण गरिएको छ।
पूर्वप्रधानमन्त्री प्रचण्डले स्थानीय तहको सशक्तिकरणका लागि भौतिक पूर्वाधार विकास अपरिहार्य भएको उल्लेख गर्दै भने, “स्थानीय तह सक्षम भए मात्र संघीयताको मर्म पूरा हुन्छ। यस्ता संरचनाले जनतालाई सेवा नजिक ल्याउँछ।”
उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, विभिन्न स्थानीय तहका प्रतिनिधि, राजनीतिक दलका नेताहरू, कर्मचारी, पत्रकार तथा सर्वसाधारणको उल्लेख्य सहभागिता थियो। स्थानीय विद्यार्थीहरूको स्वागत नृत्य, झाँकी र सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
स्थानीयबासीहरूले सेवा लिनका लागि विगतमा असहज स्थिति भोग्नुपरेको उल्लेख गर्दै नयाँ भवनप्रति सन्तुष्टि व्यक्त गरे। उनीहरूका अनुसार, अब सेवा छिटो, सहज र व्यवस्थित रूपमा पाउने आशा गरिएको छ।
भवन उद्घाटनसँगै भिमसेनथापा गाउँपालिकाले प्रशासनिक सेवा सुधार, पारदर्शिता र जनउत्तरदायी शासनतर्फ ठोस कदम चालेको संकेत दिएको छ।
(तस्बिरहरु)











































