राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले चाँडै सशक्त आन्दोलनमा उत्रिने घोषणा गरेको छ।
संयुक्त जनआन्दोलन समितिको समर्थन रहेको चैत १५ गतेको हिंसात्मक तीनकुने प्रदर्शनका जनकमान्डर रहेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई सहितका राजावादी नेता तथा कार्यकर्ता प्रहरी हिरासतमै रहेका बेला संयुक्त जनआन्दोलन समितिले यस्तो घोषणा गरेको हो।
सरकारले तीनकुने प्रकरणमा दुर्गा प्रसाईं सहितका करिब आधा दर्जन व्यक्तिहरूलाई कर्तव्य ज्यान मुद्दा चलाउने अन्तिम तयारी छ। चैत १५ यता राजावादी गतिविधि शिथिल बन्दै गएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहकै आड भरोसामा राजावादी गतिविधि बढेको भन्दै गणतन्त्रवादी शक्तिका नेताहरूले पूर्वराजालाई नै कार्वाही गर्नुपर्ने माग गरिरहेका छन्।








































