अमेरिकाको हार्वर्ड विश्वविद्यालयले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध अदालतको ढोका ढकढक्याएको छ। विश्वविद्यालयले आरोप लगाएको छ कि ट्रम्प सरकारले विश्वविद्यालयमाथि राजनीतिक दबाब बनाएर शैक्षिक कामकाजमा नियन्त्रण गर्न खोजिरहेको छ। यस्तो कदमले विश्वविद्यालयका संवैधानिक अधिकारहरूको उल्लंघन भएको हार्वर्डले आरोप लगाएको छ।
ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयको २.२ अर्ब डलरको फण्ड रोकेको छ। साथै, विश्वविद्यालयलाई अक्टोबर २०२३ पछि क्याम्पसमा भएका यहूदी विरोधी घटनासम्बन्धी तयार पारिएका सबै रिपोर्ट र मस्यौदाहरू सरकारलाई बुझाउन पनि माग गरिएको छ।
प्रशासनले ती रिपोर्टहरू तयार गर्ने सबै व्यक्तिहरूको नाम सार्वजनिक गर्न र तिनीहरूलाई संघीय अधिकारीहरूको अन्तरवार्ताका लागि उपलब्ध गराउन भनेको छ । प्रोफेसरहरूको दुई समूहले पनि मुद्दा हालेका छन्
हार्वर्ड विश्वविद्यालयका प्राध्यापकहरूले पनि १२ अप्रिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनविरुद्ध म्यासाचुसेट्सको फेडरल जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। प्राध्यापकहरूको दुई समूहले विश्वविद्यालयको फण्ड रोकिने धम्कीको विरुद्धमा यो मुद्दा दायर गरेका हुन्। त्यस समयमा ट्रम्प प्रशासन हार्वर्ड विश्वविद्यालयलाई दिइने ९ अर्ब डलरको फण्डको पुनरावलोकन गरिरहेको थियो।
हार्वर्डका प्राध्यापकहरूले ट्रम्पको निर्णय अमेरिकी संविधानको प्रथम संशोधनको उल्लंघन भएको तर्क दिएका छन्। उनीहरूको आरोप छ कि विश्वविद्यालयको फण्ड कटौती गर्नु अभिव्यक्तिको स्वतन्त्रतामाथिको हमला हो।
अदालतमा दायर गरिएको याचिकामा ट्रम्प प्रशासनको निर्णयमा रोक लगाउन माग गरिएको छ।








































