अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल यू–१९ टिम एक रनले स्तब्ध भएको छ । योसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगावै गुमायो ।
आइतबार सम्पन्न दोस्रो खेलमा अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ४९.३ ओभरमा १ सय ६७ रनमा अलआउट भयो ।
नेपालका लागि ओपनर साहिल पटेलले अर्धशतकीय पारी खेले । उनले ११९ बलमा ६ चौकासहित ६४ रनको पारी खेलेका हुन् । यस्तै, अभिषेक तिवारीले २४, दर्श सोनारले २१, निरजकुमार यादवले १५ तथा कप्तान नरेन भट्टले १३ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान यू–१९ ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १ सय ६८ रन बनायो ।
एस लागि कप्तान महबुब खानले अर्धशतकीय पारी खेले । ११४ बलको सामना गरेका उनले एक चौकासहित ५८ रनको पारी खेलेका हुन् ।
यस्तै, ओपनरद्वय उजैरुल्लाह नियाजाईले १९ र खालिद अहमदजाईले १० रन बनाए । रोहुल्ला अरबले २७ रन बनाउँदा फैजल खान सिनोजादा र बर्खत इब्राहिमजाई शून्य रनमा आउट भए ।
नाजिफुल्लाह अमिरीले १६, खातिर स्तानिकजाईल ११, वाहिदुल्लाह जार्दानले ८ र हफिजुल्लाह जार्दानले पाँच रन जोडे । नेपालका लागि सन्तोष यादवले तीन, सिब्रिन श्रेष्ठ र विपिन शर्माले दुई/दुई तथा अभिषेक तिवारी र अपराजित पौडेलले एक/एक विकेट लिए ।
यू–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरूप नेपाल र अफगानिस्तानले अभ्यास सिरिज खेलिरहेका हुन् । बिहीबार भएको पहिलो अभ्यास खेलमा अफगानिस्तानसँग नेपाल १३० रनले पराजित भएको थियो ।
यी दुई टोलीबीचको तेस्रो अभ्यास खेल बुधबार हुने तालिका छ । आगामी साता नेपालमा आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तानसँगै हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्ने छन् ।









































