महाभियोगको अभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति यून सुक येओललाई त्यहाँको संवैधानिक अदालतले पदबाट बर्खास्त गरेको छ । गएको डिसेम्बरको सुरुमा मार्सल ल लगाएर देशलाई राजनीतिक सङ्कटमा धकेलेका यूनलाई शुक्रवार सोल पश्चिम जिल्ला अदालतले राष्ट्रपति पदबाट हटाउने पक्षमा सर्वसम्मतिले निर्णय गरेको थियो ।
मार्सल ल लगाएपछि डिसेम्बरमा यूनमाथि महाभियोग प्रस्ताव पेस गरियो । केही असफलतापछि अन्ततः राष्ट्रिय सभाले उनीमाथि महाभियोग प्रस्ताव पारित गर्यो । सो फैसलालाई शुक्रवार अदालतले यथावत् राखेको छ । योसँगै येओल राष्ट्रपति पदबाट बहिष्कृत भएका छन् ।
यो फैसलापछि येओलका समर्थकहरू निराश भएका छन् भने जनतामा खुसीको माहौल देखिएको छ । यस निर्णयको विरोध गर्ने केही समर्थकलाई प्रहरीले समातेको पनि छ । येओलको मार्सल लको विरोध गर्नेहरू भने सडकमा खुसीले नाचिरहेका छन् ।
अदालतको यो फैसलासँगै येओलले राष्ट्रपति निवास खाली गर्नुपर्नेछ । तर अहिलेसम्म उनी राष्ट्रपतिको सरकारी भवनबाट बाहिरिने कुनै सङ्केत नदेखिएको भन्दै बीबीसीले समाचार छापेको छ । २०१७ मा आफूमाथिको महाभियोग प्रस्तावलाई संवैधानिक अदालतले यथावत् कायम गरेको २ दिनपछि तत्कालीन राष्ट्रपति पार्क ग्युन–ह्येले राष्ट्रपति भवन छाडेकी थिइन् ।








































