दोस्रो संस्करणको आइसिसी यू–१९ महिला क्रिकेटअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा आयोजक मलेसिया २३ रनमै अलआउट भएको छ । आइतबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको यस खेलमा श्रीलंकाले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याउनेक्रममा मलेसिया १४.१ ओभरमा २३ रनमै अलआउट भएको हो ।
उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंकाका लागि चामोदी प्रबोदाले चार ओभरमा २ मेडनसहित ५ रन दिएर सर्वाधिक तीन विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनायो । उसका लागि दहमी सानेत्माले ५२ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाइन् । श्रीलंका र मलेसियाको यो पहिलो खेल थियो । जारी विश्वकपमा नेपालको पनि सहभागिता छ ।
समूह ‘डी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा सोमबार स्कटल्याण्डको सामना गर्नेछ । नेपाल पहिलो खेलमा बंगलादेशविरुद्ध ५ विकेटले पराजित भएको थियो ।









































