जनकपुरधाम उपमहानगरपालिकाका निजी (संस्थागत) विद्यालयहरूले आजदेखि अनिश्चितकालीन बन्दकाे घाेषणा गरेका छन्। उपमहानगरपालिकाका प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्तरूपमा सूचना जारी गर्दै आजदेखि अनिश्चितकालीन विद्यालय बन्द भएको उल्लेख गरिएको छ।
३ संगठनबाट जारी अपिलमा भनिएको छ, ‘छात्रवृत्ति वितरण व्यवस्थापन समिति मिति २०८१/०५/१३ गतेको निर्णयानुसार छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरूलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि २०८१/०५/१४ गते हिसान धनुषा आबद्ध संस्थागत विद्यालयहरूमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोहीअनुसार गर्दै आए पनि पुन: २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने।’
अन्य स्थानीय निकाय (भरतपुर, विराटनगर, वीरगञ्ज, बुटवल तथा टोखा) हरूको स्थलगत वा विभिन्न सञ्चारमाध्यमबाट विवरण संकलन गरी उक्तअनुसार गरिदिनु हुन भनी कात्तिक २९ गते नगर प्रमुखलाई पत्रमार्फत अनुरोध गरे पनि केही पहल नभएकाले विद्यालयहरू बन्द गर्न बाध्य भएको पत्रमा उल्लेख छ।








































