पार्टी सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरू थप आक्रोशित बनेका छन्।
जिल्ला अदालत कास्कीको कार्यालयबाहिर बसेका रास्वपा कार्यकर्ताहरू थप म्याद थपपछि आक्रोशित बनेका हुन्।
प्रदर्शनमा सहभागी रास्वपा कार्यकर्ताहरूले भ्रष्ट सरकार होसियार, न्याय मार्न पाइँदैन, हाम्रो आन्दोलन जारी छ लगायतका नारा लगाइरहेका छन्।
यसअघि ६ दिन म्याद थप गरिएकोमा आज अदालतले थप ७ दिन हिरासत राख्न अनुमति दिए
उक्त प्रदर्शनको नेतृत्व गरिरहेकी रास्वपा सांसद डा. तोसिमा कार्कीले शान्तिपूर्ण आन्दोलनमा सरकारका दलहरूले नै घुसपैठ गर्न पठाएको दाबी गरेकी छिन्।
‘यो शान्तिपूर्ण आन्दोलनलाई दमन गर्न पाइँदैन सरकार, तिमीहरूले नै घुसपेठ गर्न पठाउने, अनि हाम्रो आन्दोलन बिथोल्ने?,’ उनले प्रश्न गरिन्।
अहिले रास्वपा कार्यकर्ताहरू पोखराको सडकमा नारा लगाइरहेका छन् भने सूर्यदर्शन सहकारी पीडितहरू रविलाई कारबाही गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।








































