सरकारले मिटरब्याज सम्बन्धमा जाँचबुझ गर्न आयोग गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग बनाएको हो । अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न बनेको आयोगमा पूर्व एआईजी पुस्कर कार्की र सञ्जिव मिश्र सदस्य छन्
यसअघि यसै विषयमा अध्यक्षन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाइएको थियो । त्यो आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याएको भएपनि त्यसले समस्या समाधान नगरेको भन्दै पीडितहरु २३ दिन पैदल हिंडेर काठमाडौं आएपछि सरकारले नयाँ आयोग बनाउने सहमति गरेको थियो ।
त्यही सहमतिअनुसार गृह मन्त्रालयको प्रस्तावमा आयोग गठन भएको सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । आयोगले अब आफ्नो काम सुरु गर्नेछ ।








































