काठमाडौं, चैत १ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुखसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुगुको सोरु गाउँपालिका–९ साविक कालै गाउँपालिका २, ३ र ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसीसी सिँचाइ कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२–०७३ मा उपलब्ध गराइएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले बिहीबार जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
सिँचाइ कुलो निर्माणमा प्रमुख पाण्डेले भुक्तानी गरेको रकमबाट सिड्डीखोला सिँचाइ आयोजनामा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार आरसीसी सिँचाइ कुलो र पाइपलाइन निर्माणको १४ लाख १७ हजार ९३५ रुपियाँ बराबरको कार्य सम्पन्न नगरी गैरकानुनी हानिनोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । पाण्डेलाई सो रकम बिगो कायम गरी कैद र जरिवाना हुन एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ ।
यसैगरी, तत्कालीन जिल्ला प्रविधिक कार्यालय मुगुका इन्जिनियर महेश सिंह कठायतविरुद्ध १२ लाख ३६ हजार ९०१ रुपियाँ भ्रष्टाचार गरेको आरोपपत्र दायर भएको छ ।
कठायतले नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार प्रथम, द्वितीय र तृतीय बिलबाट आरसीसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा जम्मा १२ लाख ३६ हजार ९०१ रुपियाँ बराबरको नभएको कामलाई पनि भएको भुट्टा बिल भरपाई मुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । अयोगका प्रवक्ता घिमिरेले कठायतलाई सो रकम बिगो कायम गरी कैद र जरिवाना हुन एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको जानकारी दिनुभयो ।
त्यस्तै, तत्कालीन जिल्ला प्रविधिक कार्यालय मुगुका सवइन्जिनियर भिमबहादुर रोकायाविरुद्ध एक लाख ९१ हजार २०६ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
रोकायाले प्रमथ रनिङ्ग बिलअनुसार फिल्डमा आरसीसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा एक लाख ९१ हजार २०६ रुपियाँ बराबरको नभएको कामलाई भएको भनी झुट्टा बिल भरपाई बनाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ । रोकियालाई भ्रष्टाचार ऐन बमोजिम सो रकम बिगो कायम गरी कैद र जरिवाना एवम् बिगोसमेत असुलउपर हुन मागदाबी लिइएको छ ।
प्रवक्ता घिमिरेका अनुसार तत्कालीन जिल्ला प्रविधिक कार्यालय मुगुका असिस्टेन्ट सवइन्जिनियर सर्जन शाहीविरुद्ध १० लाख ४५ हजार ६९४ रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शाहीले तयार गरेको द्वितीय र तृतीय बिल अनुसार फिल्डमा आरसीसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा १० लाख ४५ हजार ६९४ रुपियाँ बराबरको नभएको कामलाई भएको भनी झुट्टा बिल भरपाई बनाई भुक्तानी दिई भ्र।ष्टाचार गरेको आरोप छ । शाहीलाई सो रकम बराबरको बिगो कायम गरी कैद र जरिवाना एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ ।
साथै सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिका अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीले १४ लाख १७ हजार ९३५ रुपियाँ भ्रष्टाचार गरेको आरोप छ । उहाँहरुले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुँिग गरेको सम्झौता र सो अनुसारको इस्टिमेट बमोजिमको काम नगरी स्थलगत नापजाँच र प्रविधिक प्रतिवेदन अनुसार मूल्याङ्कन हुँदा यथार्थ कार्य मूल्याङ्कनभन्दा बढी रकम भुक्तानी लिई भ्रष्टाचार गरेको आरोप छ ।
दिपादेवी, पूर्ण र फुल्टउरालाई १४ लाख १७ हजार ९३५ रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ८ को उपदफा ४ बमोजिम कैद र जरिवानको सजया गरी बिगोसमेत असुलउपर हुन मागदाबी दिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।








































