बारा — सशस्त्र प्रहरीले भारतबाट लुकिछिपी नेपाल ल्याइँदै गरिएको ठूलो मात्राको प्रतिबन्धित औषधि बुधबार बरामद गरेको छ । दसगजासितै जोडिएको विश्रामपुर गाउँपालिका–१ को बङगरी खोला हुँदै ल्याइँदै गरिएको ‘ओनरेक्स’ नामको प्रतिबन्धित औषधिसहित एक जना भारतीय नागरिकसमेत पक्राउ परेका छन् ।
भारत, विहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्लाअन्तर्गत हरपुर गाउँ पञ्चायत वडा नम्बर २ का २२ वर्षीय सोनुकुमार साह पक्राउ परेका हुन् । बोरामा टाउकोमा बोकी नेपाल ल्याइँदै गरिएको सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले २ सय ३२ थान उक्त बोतलको औषधि बरामद गरिएको सीमा सुरक्षा बल ‘बोर्डर आउटपोस्ट’ बरैनियाका सशस्त्र प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।








































