तौलिहवा (कपिलबस्तु), फागुन ८ गते । जिल्लाको कपिलबस्तु नगरपालिका-४ पिपरी गाँउ नजिकैको नहरको कुलोमा विभत्स हत्या गरेर गाडिएको शवको सनाखत भएको छ । कोदवहा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा शरीर जलाइएकोे र टाउको नभएको शव आईताबार साझ फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक नवरत्न पौडेलका अनुसार शव कपिलवस्तुको महाराजगंज नगरपालिका–६ भलवारीका २७ वर्षीय शिव कुमार कुर्मीको रहेको खुलेको छ । मृतक कुर्मी गत शनिबार साझदेखि सम्पर्कविहीन भएका थिए । पारिवारिक श्रोतका अनुसार नजिकै घुमेर आउँछु भनेर घरबाट निस्केका उनी सम्र्पकविहीन भएका थिए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको शवलाई मृतकका भाईले सनाखत गरेका हुन् । शरीरको केही भाग जलेको भएपनि कपडाले आफ्नै छोरा रहेको मृतकका बुवा रामपति कुर्मीले बताउनुभयो । शवलाई पोस्टमार्टमका लागि सोमवार बुटवल लगिएको थियो । शवको सनाखत भएपछि प्रहरीले घटनाकोे अनुसन्धान सुक्ष्मरुपले गरेको प्रहरी उपरिक्षक पौडेलको भनाइ छ । घटनाको कारण र अभियुक्त चाँडै कानुनको दायरामा आउने उहाँले बताउनुभयो ।
उहाँका अनुसार शवको टाउको भने अझै फेला परेको छैन । शव गाडीएको स्थलदेखि ढाई सय मिटर उत्तरतर्फको खेतमा समेत रगत देखिएको प्रहरी उपरिक्षक पौडेलले बताउनुभयो ।








































