काठमाडौँ – सांसदहरुले बालकुमारी घटनामा जोडिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसदहरुले सरकारले गठन गरेको छानबिन समितिले मन्त्री ज्वालालाई दोषी देखाएकाले उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्। मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले तुरुन्त पदबाट बर्खास्त गर्नुपर्ने सांसदहरुको माग छ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले मन्त्री ज्वालाको गल्ती प्रमाणित भइसकेको भन्दै नैतिकताको आधारमा पदमा बसिराख्न नमिल्ने बताए। उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री पनि अख्तियारको छानबिनमा परेको भन्दै उनले पनि राजीनामा दिनुपर्ने बताए।
उनले भने, ‘सम्बन्धित मन्त्रीले नैतिकताको हिसाबले पदमा बस्न मिल्दैन। उहाँको गल्ती प्रमाणित भइसकेको छ। राजीनामा गर्नुभएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ। भौतिकमन्त्री र स्वास्थ्य मन्त्रीलाई कि त बर्खास्त गर्नुपर्यो कि राजीनामा दिनुपर्यो। प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु सुशासनको निम्ति असफल भइसके। सिंगो सरकार नै सुशासनको निम्ति असफल भइसक्यो। भ्रष्टाचारको निम्ति यसले नेपालको इतिहासको रेकर्ड तोड्नेवाला छ। यो सरकारबाट सुशासनको आशा गर्नु बेकार छ।’
नेकपा एमाले सांसद रघुजी पन्तले विगतदेखि नै अख्तियारको छानबिनमा परेका मन्त्रीले राजीनामा दिने प्रचलन रहेको भन्दै स्वास्थ्यमन्त्रीले राजीनामा दिनुपर्ने बताए। त्यस्तै, भौतिक पूर्वाधार मन्त्रीको राजीनामा पनि आफूहरुको अडान रहेको स्पष्ट पारे।
उनले भने, ‘हाम्रो सचेतकले स्वास्थ्य मन्त्रीको राजीनामा पनि माग्नुभएको छ। प्रकाश ज्वालाजीको पनि राजीनामा माग्नुभएको छ। हाम्रो अडान पनि त्यही हो। पञ्चायतकालका मन्त्रीदेखि आजसम्म अख्तियारमा बयान दिन जानुपर्यो भने सबभन्दा पहिला उनीहरुले राजीनामा गर्ने हो। राजीनामा गर्न मान्दैनन् भने प्रधानमन्त्रीले तुरुन्त उनीहरुलाई पदबाट हटाउनुपर्छ।’
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले पनि भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा माग गरे। राजीनामा नआएमा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनको भनाइ छ।
नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले पनि मन्त्री ज्वालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताए।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले सरकारले राज्यको सम्पति अनाधिकृत रुपमा भोगचलन गर्नेहरुलाई कारबाही गर्न पहल लिइरहेको बताए। उनले सरकार सुशासन कायम गर्न लागिपरेको बताए।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ललिता निवास जग्गा प्रकरणमा अदालतले गरेको फैसला प्रशंसनीय भएको बताए। उनले यसलाई आफूले सकारात्मक रुपमा लिएको लिएको पनि बताए।








































