काभ्रे — राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा अब आर्थिक समृद्धि, विकास र शान्ति आवश्यक रहेको बताएका छन् । लामाे संघर्षपछि राजनीतिक परिवर्तनको आन्दोलन यो विन्दुसम्म आइपुगेको भन्दै उनले अब आर्थिक समृद्धि र विकासमा सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए ।

शुक्रबार बृहत् काभ्रेपलान्चोक कृषि महोत्सव-२०८० को उद्घाटन गर्दै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।
नेपालमा अझैपनि गरिबीको दर घट्न नसकेको र गरिबीको रेखाभित्र रहेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा रहेको भन्दै राष्ट्रपति पौडेलले कृषि क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता रहेको बताए ।
‘निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य छ,’ उनले भने, ‘मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौँ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो ।’
उनले कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवर्द्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । ‘बढ्दो शहरीकरणको प्रभावबाट छायाँमा परेका पौष्टिक महत्व भएको हाम्रो मौलिक उत्पादनबारे जनचेतना र जागरण अभियान चलाएर यसको उत्पादनलाई बढावा दिनेतर्फ पनि उत्तिकै ध्यान दिनु जरुरी छ,’ उनले भने ।
कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै विउविजन र मलको आपूर्ति, नवीनतम औजार/उपकरण र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था जस्ता विषयमा राज्यले प्राथमिकता राखेर कार्यक्रम बनाउनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।








































