काठमाडौँ — माओवादी विधान अधिवशेनमा प्रतिस्पर्धात्मक विधिबाट नेतृत्व चयन गर्न बलियो मत आएको छ । समूहगत सुझाव अनुसार विधान मस्यौदामा २० समूह नेताले सुझाव दिंदै प्रतिस्पर्धात्मक विधिलाई समेट्नु पर्ने धारणा राखेका छन् ।
उनीहरुले कुनै पनि नेता दुई कार्यकालभन्दा बढी कार्यकारी पदमा जान नहुने, दुई वा तीन कार्यकालभन्दा बढी संघ, प्रदेशको सांसद हुन नहुने, दुई पटकभन्दा बढी समानुफातिकमा जान नहुने सुमाव दिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालले मंगलबार अधिवशेनमा प्रस्तुत गरेको विधान मस्यौदामाथि सबै समूहले सुझाव दिनक्रम बिहीबार सकिएको छ । प्रतिनिधिको सुझावको आधारमा विधानलाई अन्तिम रुप दिई हलबाट पारित गर्ने तयारी छ । सुझावलाई समावेश गर्ने हो भने अब माओवादी नेतृत्व प्रत्यक्ष निर्वाचन विधिबाट चयन हुने छ ।
मङ्गलबारदेखि काठमाडाौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ र बिहीबार सात समूहले बाट मस्यौंदा विधानमाथि सुझाव प्रस्तुत गरेका थिए ।
विधानमाथि सुझाव प्रस्तुत गर्दै कमला नहर्कीले पार्टीलाई श्रम र उत्पादनमा सहभागी गराउने, रूपान्तरणको नयाँ अभियान थालनी गनुपर्ने र समावेशी क्लष्टरबाट खसआर्यलाई हटाउनुपलगायतका सुझाव दिइन् ।
मस्यौदामाथि युवराज दुलालले पार्टीको चुनाव चिहृन फेर्नुपर्ने, जनवादी केन्द्रीयता मात्रै राख्नु राम्रो हुने धारणा राखे । ‘विचारको स्वतन्त्रता र कामकार्वाहीमा एकरूपतामा राखौं’ उनले भने, समान पदमा २ कार्यकाल मात्र राख्ने व्यवस्था गर्नुपर्नेमा आˆनो समूहको जोड दिए ।’
नेता राजकाजी गुरूङले विधानको भाषा सुधार गर्नुपर्ने उल्लेख गर्दै पारित विधान पालना गर्ने सामूहिक प्रतिबद्धता आउनुपर्ने बताए । ‘जनप्रतिनिधि चयन गर्दा पार्टी कमिटीबाट निर्वाचित हुने प्रावधान राख्नुपर्छ’ उनको सुझाव थियो ।
रामदीप आचार्यले पार्टीलाई पुनर्निर्माण गर्ने योजना स्पष्ट हुनुपर्ने बताए । निर्वाचनका लागि ठूला लेयरहरू हटाउनुपर्छ’ उनको भनाइ थियो ।
अर्का नेता कृष्णध्वज खड्काले पार्टीलाई वैकल्पिक केन्द्रीय सदस्यको व्यवस्था र केन्द्रीय समितिको विधान परिवर्तन गर्न नपाउने गरी व्यवस्था गर्नुपर्ने धारणा राखे । ‘आयोगलाई प्रभावकारी तुल्याउनुपर्ने सुझाव प्राप्त भएको छ’ उनले भने, ‘विषयगत दक्षता भएकालाई समेटेर संगठित गर्नुपर्ने व्यवस्था हुनुपर्छ ।’
प्रेम बयकले विधानको प्रस्तावना छोटो हुनुपर्ने एवं जनउत्तरदायी पार्टी बनाउने गरी पार्टी निर्माण गर्नुपर्ने सुझाव दिए । ‘सङ्गठनात्मक सिद्धान्त छोटो हुनुपर्ने र मानार्थ सदस्य थप्नुपर्छ’ उनको भनाय थियो । मस्यौदामाथि सुझाव दिंदै सुमन देवकोटाले कार्यकर्ताको सूचक निर्माण गर्नुपर्ने र सम्पत्ती सार्वजनिक गर्नुपर्ने सुझाव आफनो समूहको रहेको बताइन् ।








































