काठमाडौं, बैशाख १३
काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खडगीको बदमासीका कारण महानगरपालिकाले खुल्लामञ्चको सटर भत्काउन नपाएको तथ्य खुलेको छ । काठमाडौंको खुल्ला मञ्च विक्रीको समाचार आएलगत्तै मेयर बिद्यासुन्दर शाक्यले अनुगमन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएपनि उपमेयर खडगीले प्रतिवेदन बुझाउन ढिलाइ गरी ठेकेदारको पक्षपोषण गर्नुभएको पाइएको हो ।
खुल्ला मञ्च विक्री गरी व्यावसायिक सटर निर्माण गरिएको विषय चर्किन थालेपछि मेयर शाक्यले आज मुख खोल्नुभएको छ । खुल्ला मञ्च प्रकरणमा महानगरले मौनता साँधिरहेको आरोप लाग्न थालेपछि मेयर शाक्यले यथार्थ राखेर खुल्ला मञ्चमा उपमेयर खड्गीले राजनीति गरिरहेको खुलासा गर्नुभएको हो । खुल्ला मञ्च राज्य र नागरिकको सम्पति भएको बताउँदै मेयर शाक्यले उपमेयर खड्गीले रिपोर्ट दिए तत्काल खुल्ला मञ्चको सटरहरु डोजर लगाएर भत्काउने घोषणा गर्नुभयो ।
शाक्यका अनुसार खुलामञ्चमा बसपार्क राख्न दिएको सम्झौताभन्दा विपरीत गएर नयाँ संरचना बनाइएको छ । उहाँले गत मैले चैत २४ गतेको नगरसभामा सो सूचना पाउन साथ उपमेयरलाई अनुगमन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको बताउनु भयो ।
‘कानुनले नै उपमेयरलाई अनुगमनको जिम्मा दिएको छ, खुल्लामञ्चको बिषयमा जानकारी पाएलगत्तै उपमेयर हरिप्रभा खड्गीलाई त्यहाँ के भएको हो, तत्कालै अनुगमन गरेर रिपोर्ट दिनुस भनें,’ जनताटाइम्ससँग मेयर शाक्यले भन्नुभयो । चैत २४ गते नै निर्देशन दिएपनि उपमेयर खडगीले अहिलेसम्म प्रतिवेदन दिनुभएको छैन ।
अब एक्सनमै जाने हो । त्यहाँका सम्झौता विपरीतका सबै संरचना भत्काउने नै हो । उपमेयरले आज रिपोर्ट दिनुभयो भने आजै डोजर लगाइन्छ,’ शाक्यले भन्नुभयो, ‘उपमेयरले कहिले रिपोर्ट दिनुहुन्छ, हेर्छु । तर, पर्खेर धेरै बसिन्न । खुलामञ्चमा बनाइएका संरचनाहरु भत्काउछु । त्यहाँ भत्काउनुको विकल्प नै छैन
‘यसबीचमा उपमेयरले कुनै रिपोर्ट दिनु भएन । उहाँ आफैं त्यही २८ नम्बर वडाको बासिन्दा हुनुहुन्छ, जहाँ खुलामञ्च छ । त्यहाँका वडाध्यक्षले पनि कुनै जानकारी नदिएपछि शिक्षा समितिको बैठकमा मैले उपमेयरलाई पुनः सोधें, खोई रिपोर्ट भनेर । त्यसको साक्षी मुकुन्द रिजाल १६ नम्बर वडाको अध्यक्ष पनि हुनुहुन्छ,’ मेयर शाक्यले भन्नुभयो ।
उक्त वैठकमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रिजाल रहेको जानकारी दिनुभयो । ‘जब उपमेयरले आफ्नो जिम्मेवारी बिर्सेर कांग्रेस कार्यकर्ताको तहमा मिडियाबाजी तथा राजनीति गर्न थालेपछि मैले यो कुरा भन्न बाध्य भएको हुँ । मिडियामा खुलामञ्चको कुरा आएपछि उहाँहरु राजनीति गर्न थाल्नुभयो । मैले चिठी नै पाएको छैन भन्नुभएछ,’ शाक्यले भन्नुभयो ।
मेयर शाक्यलेकांग्रेस नेता भीमसेनदास प्रधानसहितलाई राखेर आजै उपमेयरलाई चिठी पठाएको जानकारी दिनुभयो । ‘मेयरले दिएको निर्देशन नमानेपछि अब कांग्रेस कार्यकर्ताको हिसाबले तपाई निर्देशन दिनुस् भनेर मैले भीमसेनदास प्रधानजीलाई पनि भनें । मेयरको विरुद्ध राजनीति गर्न थालिएपछि मलाई दुःख लागेको छ,’ शाक्यले भन्नुभयो ।
शाक्यका अनुसार उपमेयर खडगीले जानजान यस्तो काम गर्नुभएको देखिन्छ । ‘उपमेयरले यतिका दिनसम्म खुलामञ्च देख्नु भएन, किन ? उहाँलाई त मैले तत्काल के भएको रिपोर्ट दिनुस् भनेको थिएँ । माननीय भीमसेनदासले त मिडियामा आएपछि थाहा पाउनुभएछ, मैले त चैत २४ मै थाहा पाएर एक्सनमा जान्छु भनेको हो । उपमेयरले रिपोर्ट दिनुहोला भन्दाभन्दै मेयरविरुद्ध पो राजनीति गर्न थाल्नुभयो,’ मेयर शाक्यले भन्नुभयो ।
आफू निर्वाचित हुनुअघि नै खुलामञ्चमा केही समयका लागि बसपार्क राख्न दिइएको र आफूले यो रोक्नुपर्छ भन्ने अडान लिएको तथ्यसमेत मेयर शाक्यले खोल्नुभयो ।
‘अब एक्सनमै जाने हो । त्यहाँका सम्झौता विपरीतका सबै संरचना भत्काउने नै हो । उपमेयरले आज रिपोर्ट दिनुभयो भने आजै डोजर लगाइन्छ,’ शाक्यले भन्नुभयो, ‘उपमेयरले कहिले रिपोर्ट दिनुहुन्छ, हेर्छु । तर, पर्खेर धेरै बसिन्न । खुलामञ्चमा बनाइएका संरचनाहरु भत्काउछु । त्यहाँ भत्काउनुको विकल्प नै छैन ।’








































