माघ १८ देखि नवौँ नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा १८ देखि २१ माघसम्म प्रदर्शनी हुने भएको हो ।
प्रदर्शनीमा विभिन्न देशका ५ सय भन्दा बढी ब्राण्डका १ सय ५० बढी स्टलहरू रहनेछन् । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्श ट्रेड फेर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा मेला सञ्चालन गर्न लागेका हुन् । निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादन तथा यस क्षेत्रमा आउने नयाँ प्रविधिको बारेमा जानकारी गराउन प्रदर्शनी महत्त्वपूर्ण हुने मिडिया स्पेस सोलुसन्सका कार्यकारी निर्देशक सिर्जल भट्टराईले बताए ।
८ वर्षदेखि मेला गर्दै आइरहेको र प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनियर्स, कन्ट्रयाक्टर्स, विल्डर्स, इन्टीरीयर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्तिको सहभागिता रहने विश्वास रहेको भट्टराईको भनाइ छ । मेला बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने उनले बताए ।
मेलाको तयारी लगभग सकिएको उनको भनाइ छ । प्रदर्शनीमा मुख्य गरी नेपाल, भारत, चीन, ताइवान लगायत मध्यपूर्वबाट दुबईका कम्पनीहरूले सहभागिता जनाउने उनले बताए । यस वर्ष विदेशका तुलनामा नेपालका स्टलहरू बढी रहने उनको भनाइ छ । चार दिनसम्म चल्ने प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको उनको भनाइ छ ।








































