आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपको जारी खेलमा नेपालले पाकिस्तानविरुद्ध १५० रन पूरा गरेको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनमा दिउँसो पौने २ बजेदेखि जारी खेलमा नेपालले ४२.४ ओभरमा ७ विकेट गुमाएर १५० रन पूरा गरेको हो ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
नेपालले पहिलो विकेट ४.२ ओभरमा २९ रन बनाएको अवस्थामा गुमाएको थियो । अर्जुन कुमाल १२ बलमा ६ रन बनाएर आउट भए ।
त्यसपछि नेपालले ६.५ ओभरमा दोस्रो विकेट गुमायो । आकाश त्रिपाठी १० बलमा ६ रन बनाएर आउट भए ।
५० रन बनाएको अवस्थामा विपिन रावलले २६ र कप्तान देव खनालले २ रन बनाएर अविजित थिए ।
पछि विपिन ३९ र देव २३ रन बनाएर आउट भएका हुन् ।
उत्तम मगर पनि ४ रनमा पवेलियन फर्किए । यस्तै गुलशन झा १८ र दीपेश कँडेलले १३ रन बनाए ।
अहिले दीपक डुम्रेर र सुवास भण्डारी क्रिजमा छन् ।
यसअघि पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानमाथि सानदार जीत हात पारेको थियो ।
यू–१९ विश्वकपमा हालसम्म नेपाल र पाकिस्तानबीच ३ खेल भएका छन् । तीमध्ये १ खेल अधुरै रहेको थियो भने १ मा नेपाल तथा १ मा पाकिस्तानले जीत हात पारेको थियो ।
सन् २००० मा श्रीलंकामा भएको यू–१९ विश्वकपमा नेपाल र पाकिस्तानबीचको खेल पूरा हुन सकेको थिएन । सन् २००२ मा नेपाल र पाकिस्तानबीच पुनः विश्वकपमा भेट भएको थियो ।
न्युजिल्यान्डमा भएको विश्वकपमा भने नेपालले समूह चरणमै पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो ।








































