काठमाडौँ– सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरूले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गर्दै सो विषय कसरी समावेश गर्नु हुन्छ? भनी अर्थमन्त्री डा. प्रकाशशरण महतसँग प्रश्न समेत गरे।
उनले भने, ‘केही दिनअगाडि नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरूलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नु भएको थियो। म आफ्नो बोल्ने क्रममा प्रारम्भमा नै माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु- हामीले छलफलमा उठाएका यी विषयहरूलाई तपाईंले बजेटमा कसरी समावेश गर्नुहुन्छ? यो संसदलाई स्पष्ट गराइदिनु हुन म अनुरोध गर्न चाहन्छु।’
सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरू मुख्य कारण रहेको पनि औंल्याए।








































