काठमाडौं, चैत २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सरकारी निकायलाई पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको छ । भ्रष्टचारविरुद्ध शुन्यसहनशिलता अपनाउदै भ्रष्टचारीविरुद्ध कडा रुपमा उत्रिनु भएका प्रधानमन्त्री ओलीले पारदर्शी भएर काम गर्न निर्देशन दिनुभएको हो । साथै उहाले परिणाम देखिने गरी काम गर्न पनि कडा निर्देशन दिनु भएको छ ।
गरिबी निवारण कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सिंहदरवारमा सम्वोधन गर्दै उहाले भ्रष्टाचार हुन नदिन सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न सचेत समेत गराउनु भयो । उहाले भ्रष्टचारको गन्ध पाए कोही कसैको अनुहार नहेरी कारवाही गर्ने समेत चेतावनी दिनुभयो ।
‘प्रधानमन्त्रीले हरेक संस्था परादर्शी ढंगले चल्नुपर्यो, भ्रष्टाचारका गन्ध आउनुभएन । परिणाम देखिने गरी काम गर्नुपर्यो भन्नु भएको छ’, बैठकपछि कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिनुभयो ।
कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिबी निवारणको क्षेत्रमा गरेका कामको मूल्यांकन गरेर मात्रै गरिबी निवारण कोषको लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएको उपाध्यक्ष भट्टराईले जनाउनु भयो ।
कोषले गरिबी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ।
त्यसैगरी ३२ हजार गरिबी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गरिबी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन ।








































