काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन दलका शीर्ष नेताको बैठकमा संसद्लाई कसरी सुचारु रुपमा लैजाने भन्नेबारेमा छलफल भएको बताएका छन्।
बुधबार सिंहदरबारमा भएको शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले बाहिर प्रचार भएजस्तो नक्कली शरणार्थी प्रकरणमा आफूहरुबीच कुराकानी नभएको दाबी गरे।

उनले भने, ‘मिडियामा तपाईंहरुले जसरी प्रचार गर्नुभएको छ, तीन जना नेताको भेट त्यस्तो होइन। हामीहरुको भेट बढी चाहिँ अहिले सदनलाई कसरी सुचारु रुपमा लैजाने? त्यहाँ समितिहरु बनाउने, संयुक्त समितिहरु बनाउने भन्ने विषयमा नै बढी छलफल हामीले गरेको हो।’
उनले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा प्रहरीले आफ्नो काम गरिरहेको र त्यसमा धेरै आशंका गर्नुपर्ने कारण नरहेको बताए। यस विषयमा प्रहरीलाई डिस्टर्ब गर्नु हुँदैन भन्ने सबैको सहमति रहेको पनि उनले बताए।








































