राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २४ वैशाखको सभाको बैठकमा सत्तापक्षका सदस्य रमेशजंग रायमाझीले प्रयोग गरेको शब्द रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष तिमिल्सिनाले सत्तापक्षका सांसद रमेशजंग रायमाझीले प्रयोग गरेको ‘उहाँको झड्केलो छोरो हो, टोपबहादुर रायमाझी’ भन्ने शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।

सोमबारको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीको शब्दप्रति नियमापत्ति जनाएका थिए । एमालेले नियमापत्ति जनाएसँगै अध्यक्ष तिमिल्सिनाले आफूले एकपटक सुनेर आजको बैठकमा निर्णय लिने बताएका थिए । सोहीअनुसार आजको बैठकमा अध्यक्ष तिमिल्सिनाले सदस्य रायमाझीले प्रयोग गरेको राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को घको व्यवस्थासँग मेल नखाने भएकाले सो शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए ।
अध्यक्ष तिमिल्सिनाले सभामा बोल्दा राष्ट्रिय सभाको हालसम्मको अभ्यासलाई समेत मध्यनजर गरी राष्ट्रिय सभा नियमावली २०७५ को नियम २१ को व्यवस्था बमोजिम शिष्ट र मर्यादित शब्दहरू प्रयोग गर्न आग्रह गरे ।








































