अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले स्रोत अभावको समस्याका बाबजुद विकासलाई प्राथमिकतामा राखेको बताएका हुन् । नुवाकोटको दुप्चेश्वर गाउँपालिका नाम्सापुराणस्थित छेवाङ ग्लान ङाछर्यालिङ गुम्बामा गुरु पद्मसम्भव मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रममा बोल्दै उनले भएको स्रोतलाई विकासमा परिचालन गर्ने बताएका हुन् ।
‘हामीसँग राजस्वबाट प्राप्त हुने आम्दानी यो वर्ष थोरै छ । यो थोरै आम्दानीलाई देशैभरिका विकास निर्माणमा पुर्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘स्रोतको समस्या छ, यसका बाबजुद सम्भव भएका काम हुनेछन्, विकासमा परिचालन गरिनेछ ।’ आफू अप्ठ्यारो समयमा अर्थमन्त्री भएको उल्लेख गर्दै उनले चुनौतीको सामना गर्न तयार रहेकोसमेत बताए ।

मन्त्री डा. महतले ‘नेपाली कांग्रेसले विकास निर्माणलाई सधैँ प्राथमिकता दिँदै आएको बताए । ‘कांग्रेस जहिले सरकारमा हुन्छ, त्यसवेला जनताको पिरमर्का, आवश्यकता र विकास निर्माणलाई प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘अहिले पनि जनताका समस्या समाधानका साथै विकास निर्माणलाई प्राथमिकतामा राखेका छौँ ।’
पछिल्लो समय दुप्चेश्वर गाउँपालिकामा पुल, सडकलगायतका विविध पूर्वाधारको विकास भएको उनले बताए । ‘अहिले यहाँ दुईवटा महत्वपूर्ण बाटो निर्माण भएका छन् । प्रदेश सरकारको लगानीमा सीधै राजधानी काठमाडाैँ–खोले गाउँ–महाकाली हुँदै दुप्चेश्वर जोडिँदै छ । ट्रयाक जोडिसकेको छ, अब पक्की बाटो बन्दै छ,’ उनले भने, ‘केन्द्र सरकारको लगानीमा गंगटे त्रिशूलीदेखि नै गोल्फु भन्ज्याङसम्म जाने बाटो बनेको छ, समुन्द्रटारदेखि यता कच्ची छ, यो बाटोलाई पक्की गर्नुपर्ने आवश्यकता छ । यसका लागि आवश्यक बजेट विनियोजन हुनेछ ।’ बाटो सँगसँगै शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विकासमा समेत जोड दिने उनले बताए । नयाँ पत्रिका








































