काठमाडौँ, वैशाख ९ गते । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गरेको भन्दै १८ वटा सञ्चार माध्यमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीत मत सर्वेक्षण र चुनावी विश्लेषणसहितका सामग्री सम्प्रेषण गरेको भन्दै काउन्सिलले सो स्पष्टीकरण सोधेको हो ।

हिजो शुक्रबारसम्म दुई वटा अनलाइन र एउटा टेलिभिजनलाई पत्र काटिएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिनुभयो । गएरातिदेखि सुरु भएको मौन अवधिका समयमा दल तथा उम्मेदवारको प्रचारप्रसार गर्ने १५ वटा पत्रपत्रिकालाई पनि २४ घण्टे पत्र काटिएको उहाँले जानकारी दिनुभयो ।
काउन्सिलले चुनावका समयमा आचारसंहिताको पालना गर्न र मत सर्वेक्षणसम्बन्धी समाचार सामग्री सम्प्रेषण नगर्न पटक पटक अपिल गर्दैआएको जनाएको छ । वैशाख १० गते आइतबार बारा क्षेत्र नं २, चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।








































