प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता सम्बन्धी समस्या समाधान हुने बताएका छन् ।
बिहीबार बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ । नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।’
प्रधानमन्त्री प्रचण्डले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने पनि बताए । उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गरिनेछ। कोभिडको बेला बन्द भएको नाका सुचारू गरिनेछ। विद्युतीय सिचाइँ प्रणालीमार्फत् सिँचाइको व्यवस्था गरिनेछ। उपेन्द्रजीको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिनेछ।’
चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘उपेन्द्र यादव देशको नेता हो, संसदका लागि चाहिने नेता हो । उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो। मधेशले मात्रै नभएर देशले जित्नु हो। संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो ।’
सभामा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.-२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाल लगायतले सम्बोधन गरेका थिए ।








































