एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता दिलाउनेक्रममा स्पिनर सन्दीप लामिछानेले कप्तान मोहम्मद फैजलाई ७६ रनमा विकेटकिपरबाट स्टम्पिङ गराए ।
यसअघि नेपाललाई पहिलो सफलता ५.५ ओभरमा गुलशन झाले दिलाएका थिए । उनले मोहम्मद आमिरलाई व्यक्तिगत १७ रनमा दीपेन्द्र सिंह ऐरीबाट क्याच गराए । १८ बल खेलेका आमिरले १७ रनको पारीमा ३ चौका हिर्काए ।
उनी आउट भए पनि मलेसियाको रन गति रोकिएन । फैज र वीरन्दीपले दोस्रो विकेटका लागि ११५ रनको साझेदारी गरे । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङको पाहुना टोली मलेसियाले ३४ ओभरमा २ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको छ ।
नेपालले मलेसियाविरुद्ध ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जिसीलाई प्लेइङ–११ मा समावेश गरेको छैन । सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि पछिल्लो समय ज्ञानेन्द्र लगातार प्लेइङ–११ बाहिर छन् । उनी आइसिसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम श्रृंखलाहरूमा पनि प्लेइङ–११ को हिस्सा बन्न सकेका थिएनन् ।
प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । उपाधि जित्ने टोलीले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।









































