चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् ।
३ तले घरको छतबाट खसेर चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा सख्त घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए । घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) नेतृत्वकै टोली खटिएको छ । थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
सोमबार बिहान ४ बजेतिर चितवनको भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापाको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ। भुँइतलासहित तीन तला रहेको लामिछानेको घरमा माथिल्लो तलामा चालक सुतेका थिए । उनीसँगै रास्वपा महामन्त्री मुकुल ढकालका चालक पनि संगै सुतेको डिएसपी पण्डितले बताए । उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको छ । प्रहरीका अनुसार तनहुँमा चुनावी प्रचारप्रसार सकेर लामीछानेसहितको टोली आइतबार बेलुका चितवन पुगेका थिए।








































