काठमाडौँ।
“बैदेशिक रोजगारको शिलशिलामा विदेशमा मृत्यू भएका तथा बिदामा आउँदाका बखत मृत्यू भएका नेपालीहरुले प्राप्त गर्ने बिमा बापतको रकम दिलाई दिन्छु भनी मृतकका आफन्तहरुलाई ठगी गर्ने एक गिरोह पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले बिहिबार गोंगबुबाट ६ जनालाई पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यू भएका तथा बिदामा नेपाल आउँदा मृत्यू भएका नेपालीहरुले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरुलाई दिलाई दिन्छु भनी बीमा बापत प्राप्त हुने रकमको केही रकम मात्र आफन्तलाई दिई बाँकि रकम लिई ठगी गरेको भन्ने सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। पिडितहरुले ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो।
पक्राउ पर्नेहरुमा काभ्रेका रामबहादुर तामाङ, सर्लाही लालबन्दीका डिक बहादुर मल्ल, विनोद कुमार लामा, रविन भन्ने रविन्द्र मोक्तान,प्रकाश बहादुर गोले र रुद्रमान गोले रहेका छन्। उनीहरुको साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्म, विवाह र मृत्यु दर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको छ । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। पक्राउ परेका सबैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








































