काठमाडौँ – प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको बताएका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले मिटरब्याजको जड साहु नभएर सरकार भएको बताए।
उनले सरकारले देशलाई अस्तव्यस्त बनाएर शासन गर्न खोजेको आरोप लगाए। उनले सरकारले गरिबी र अशिक्षामाथि शासन गर्न खोजेको बताए। सिंहले देशमा मिटरब्याज, सेन्टिमिटर ब्याज र मिलिमिटर ब्याज गरी तीन प्रकारको ब्याज रहेको टिप्पणी गरे।
प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले नुवाकोटको मेकाङ भन्ने ठाउँमा राष्ट्रिय तामाङ संग्रहालय बनाउन माग गरे।
प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीले देशमा व्यापारीलाई व्यापार घाटा भइरहेका बेला बैंकहरूले भने मुनाफा कमाइरहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए।
प्रतिनिधि सभा सदस्य असिम शाहले एक महिनादेखि मन्त्रालयहरू मन्त्रीविहीन भएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले नेताहरुले गरिरहेको भागबन्डालाई जनताले नियालिरहेको उल्लेख गरे। त्यस्तै, उनले १ मिनेट शून्य समय अपुग भएको भन्दै शून्य समयलाई २ मिनेट पुर्याउन माग गरे।
प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनामा ठूलो रकम रकमान्तर गरेर योजनालाई नै अन्योलतर्फ धकेल्ने काम गरेको बताए। उनले सरकारले आयोजनालाई असफल बनाउन लागेको आरोप लगाए। उनले रकमान्तर फिर्ता गर्न अनुरोध गरे।
प्रतिनिधि सभा सदस्य कान्तिका सेजुवालले सामुदायिक विद्यालयमा दिइँदै आएको खाजा भत्ता वृद्धि गर्न माग गरिन्। त्यस्तै, प्रतिनिधि सभा सदस्य गगन थापाले नागरिकतासम्बन्धी कानुन संसदको यही सत्रमा टेबल गर्न सरकारको ध्यानाकर्षण गराए। उनले राजनीतिक दलबीच सहमति भइसकेका विषयलाई समेटेर नेपाली बाबुआमाबाट जन्मिएका सन्तानलाई नागरिकता दिनुपर्नेमा जोड दिए।








































