काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएलगत्तै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएपनि सत्ता गठबन्धनमा अझै भागबन्डाको टुंगो लागेको छैन । गठबन्धनमा दलहरूको संख्या धेरै भएकाले भागबन्डामा समस्या भएको देखिएको छ ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारूढ दलहरूका बीचमा मन्त्रालयको भागबन्डा नटुंगिएको बताए । आइतबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसदसमेत रहेका खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताए ।
उनका अनुसार गठबन्धन दलका नेताहरूका बीचमा छलफल भइरहेको भएपनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो लागेको छैन । कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको दाबी उनको छ ।
“नेपाली कांग्रेसले औपचारिक रूपमा कुनै निर्णय गरेको छैन । कांग्रेस मात्रै होइन कुनैपनि दलले कुन मन्त्रालय लिएर सहभागी हुने भन्ने बारेमा अन्तिम निर्णय भइसकेको छैन । अहिले सबै कुरा छलफलको क्रममा छ,” उनले भने ।
उनले आगामी तीन दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरे । “मलाई लाग्छ सम्भवतः २–३ दिन भित्रमा यसले पूर्णता पाउँछ,” उनले भने ।








































