काठमाडौं ।
नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको हो।
नेकपा माओवादी केन्द्रले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि गण्डकीमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रदेश सरकार अल्पमतमा परिसकेकाले मुख्यमन्त्रीलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आग्रह गरे। ‘माओवादीले साथ छाडिसकेको छ,’ उनले भने, ‘त्यसैले सरकार अल्पमतमा परिसक्यो। बहुमत जुटाउने सम्भावना पनि देखिँदैन। यस्तो अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ।’
सरकारको नेतृत्वका लागि आलोपालो गर्न सहमत कांग्रेस गण्डकीले पहिलो कार्यकाल भने आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।








































