राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकमा सूचनाको पहुँच पुर्याउन सामुदायिक रेडियोको प्रभावकारी भूमिका रहेको बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी तथा कार्यसमितिसँग राष्ट्रपति भवन शीतल निवासमा उनले सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीले भेटेर पौडेललाई बधाई पनि दिए ।
सामुदायिक रेडियो प्रसारक संघको प्रतिनिधिलाई सम्बोधन गर्दै राष्ट्रपतिले सामुदायिक रेडियोका कारण गाउँगाँउसम्म आम नागरिकमा सूचनाको पहुँच पुगेको भन्दै सामुदायिक रेडियोहरूलाई धन्यवाद दिए ।
साथै स्थानीय उत्पादन र स्थानीय तहमा उत्पादनशीलताको विकास गर्न सामुदायिक रेडियोहरूको भूमिका विशेष रहेको बताए
‘स्थानीय उत्पादनलाई प्रोसाहन गर्न यहाँहरूको ठूलो भूमिका छ । त्यही भएकाले स्थानीय तहमा उत्पादनशीलतालाई यहाँहरूले प्रोत्साहन गर्नुभयो भने मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’
राष्ट्रपतिले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताए । श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भए पनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको बताए ।
यो धारणा बदल्न र कामप्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएकोमा जोड दिए ।
उक्त अवसरमा सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष अर्जुन गिरीले सम्माननीय राष्ट्रपतिलाई रेडियो सेट उपहार दिएका थिए ।








































