काठमाडौं।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सयौँ तिब्बतीयन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको आरोपसहित ५ जनाको गिरोह पक्राउ परेको छ ।
काठमाण्डौको बबरमहल एरियामा केहि ब्यक्तिहरुले निश्चित रकमको चलखेल गरि बिभिन्न सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखत समेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारीस तयार गरि गैरनेपाली व्यक्तिहरूको सक्कलै नेपाली नागरिकता समेत वनाई दिने गरेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्यस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरुको निग्रानी राखी खोजतलास गर्ने क्रममा चैत ५ गते दिउँसो जिल्ला काठमाण्डौ बबरमहलबाट झापाको केचनाकवलका ४७ वर्षीय कृष्णबहादुर कटवाल, काठमाडौंको बबरमहलका ७० वर्षीय न्युल्केस श्रेष्ठ, मोरङको सुन्दर हरैँचाका ४९ वर्षीय हिरालाल सिवाकोटी, तनहुँको तिब्बतीयन शिविरमा बस्ने २५ वर्षीय लोब्साङ ठिन्ले र ललितपुरको गोदावरीका ३० वर्षीय विजय लामालाई पक्राउ गरेको हो
उनीहरुलाई विभिन्न व्यक्तिहरूको नक्कली नागरिकता, बिभिन्न शैक्षिक संस्थाको शैक्षिक प्रमाणपत्रहरु, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता, बसाइसराई, विवाह दर्ता, सम्बन्ध बिच्छेद जस्ता वडा कार्यालयको सिफारिस लगायतका महत्वपूर्ण अन्य विविध कागजातहरु, किर्ते गर्न प्रयोग हुने वडा कार्यालयहरुको छाप तथा दस्तखत, नक्कली कागजात पेस गरि बनाइएको गैरनेपालीले प्राप्त गरेको सक्कलै नागरिकता सहित फेला पारी निजहरुलाई पक्राउ गरि नागरिकता ऐन तथा लिखत सम्बन्धि कसुरमा आवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।
प्रहरीका अनुसार एउटा नक्कली नागरिकता बनाउन ५ लाख रुपैयाँसम्म लिने गरिएको र नक्कली बाबुलाई १० हजार रुपैयाँसम्म दिने गरेको पाइएको छ।











































