स्याङ्जा
गल्याङ नगरपालिकाले आज एक कार्यक्रम गरि ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ। लैङ्गिक समानताका लागि डिजिटल आविस्कार र प्रविधि र लैङ्गिक समानताकाे बलियो आधार :सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार भन्ने मुल नाराका साथ गल्याङ नगरपालिका सिटी हलमा कार्यक्रम मनाइएको हो।


गल्याङ नगरपालिका उप-प्रमुख हेमा न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न खाले महिला हिसा सम्वन्धि सचेतनामुलक प्रस्तुति गित , नृत्यहरू समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नगरप्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो। उपस्थित व्यक्तिहरुलाई अधिबक्ता सरिता तिमिल्सिनाले प्रशिक्षण दिएकी हुन्। कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टराईले समाज परिवर्तन हुनका लागि सबैभन्दा पहिले हरेक व्यक्तिको सोचमा परिवर्तन आवश्यक रहेको बताए। उनले लिङ्गका आधारमा गरिने विभेदको अन्त्यका लागि समाजमा सकारात्मक विचार प्रवाह गर्दै जानुपर्नेमा जोड दिएका छन् । अब बस्ती बस्तीहरुमा सकारात्मक सोचका दियो बाल्दै अगाडि बढ्नुपर्नेमा जोड दिंदै नगर प्रमुख भट्टराइले नारी र पुरुषबीच विभेद छैन र हुनुहुन्न भन्ने विचार प्रवाह गर्दै कार्यान्वयन पक्षलाई पनि मजबुत बनाउनुपर्ने धारणा राखेका छन्।


नगर उप-प्रमुख तथा कार्यक्रमका अध्यक्ष न्यौपानेले अधिकार सुनिश्चिताको लागि सबै महिला एक ढिक्का हुनुपर्ने बताएकी छन् । उनले अधिकार खाेज्दै गर्दा कर्तव्य पनि पूरा गर्नुपर्ने बताइन् । उनले महिला अधिकारका कुरा गर्दै गर्दा पुरुषको अधिकार खोस्न नभई महिलाका विस्थापित भएका अधिकारहरुलाई पुनर्स्थापित गर्न खोजेको उल्लेख गरिन । सबै मिलेर सामाजिक न्याय र समानता सहितको दिगो विकासतर्फ अग्रसर हुन र महिला दिवसका नारालाई व्यवहारमा ढाल्न सार्थक पहल गर्नुपर्ने उनको भनाइ रहेको छ। नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु , वडा अध्यक्षहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु, नगरक्षेत्रका आमा समूह, युवा क्लब लगायतका सामाजिक संस्थाहरु, सामुदायिक बिधालयका शिक्षक/शिक्षिकाहरु, बिधार्थीहरु, महिला स्वास्थ्य स्वयंसेविकहरु, बिभिन्न क्षेत्रका बुद्दिजीबीहरु र स्थानीयहरुको उल्लेखनीय सहभागिता थियो ।
नारी दिवस हरेक वर्षको मार्च ८ मा विश्वभर मनाइदै आएको छ । यो दिवसलाई नेपालमा पनि महिलाहरुले जागरुकता सम्बन्धि विविध कार्यक्रम गरि मनाइदै आएको छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । नारी दिवस सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।








































