झापा – नेकपा एमाले झापाकी उपसचिव तथा अधिवक्ता चन्द्र श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।
शुक्रबार झापाको भद्रपुरमा पत्रकार सम्मेलन आयोजना गरेर उनले नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् ।
उनी भद्रपुर नगरपालिकाको पूर्व उपप्रमुख पनि हुन् । उनी चुनावमा उम्मेदवार छान्ने विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति विमती राख्नेमध्येको एक हुन्।
खासगरि झापाको क्षेत्र नं ३ मा पार्टी नेतृत्वले एमालेको अवस्थालाई कमजोर बनाएको भन्दै उनले पार्टीबाट अलग भएको बताइन् । एमाले परित्याग गरे पनि तत्काल कुनै पार्टीमा प्रवेश नगर्ने उनले बताइन्।
पार्टीभित्र काखापाखा गर्ने परिपाटीको अन्त्य तत्काल गर्न माग गर्दै योग्यता, क्षमता, योगदान र सिद्धान्त निष्ट नेता कार्यकर्ताहरुलाई एकतावद्ध बनाई सुदृढ पार्टी संगठन निर्माणमा केन्द्रीय तथा जिल्ला कमिटी नेतृत्वको गम्भीर ध्यानाकर्षण गर्दापनि पार्टी नेतृत्व नसुनेको उनको आरोप थियो ।
उनले भनिन्, ‘झापाको क्षेत्र नं ३ मा चाहिँ पार्टीका कार्यकर्ताले राप्रपालाई भोट हाल्नुपर्ने ? यो पनि विद्रोहको एउटा पाटो हो।’
गत स्थानीय, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेकपा एमालेले उनलाईसमेत निलम्बन गरेको छ।
तर पार्टीभित्र मजदुर किसान र श्रमजिवी वर्गको हकहितको पक्षपोषण गर्ने कार्यदिशा कमजोर बन्दे गएको र पार्टी नीति भन्दा नेता प्रधान हुँदै गएको भन्दै आफूलगायत केही नेता तथा कार्यकर्ताले एमाले परित्याग गरेको घोषणा गरेको श्रेष्ठले बताइन्।
एमाले परित्याग गर्नेमा प्रदेश कमिटी सदस्य पदम थापा, ३ नं क्षेत्रीय कमिटी सदस्य सज्जाद आलम, बाह्रदशी गाउँपालिका कमिटी सदस्य हवालोदिन मियाँ तथा बाह्रदशी गाउँपालिका सचिवालय सदस्य रहिम मियाँ रहेका छन्।








































