काठमाडौँ।
काठमाडौँ जिल्ला प्रहरी परिसरले होली पर्व सुरक्षित तवरले मनाउन अनुरोध गरेको छ। प्रहरी परिसरले एक सूचना जारि गर्दै व्यक्तिको इच्छा विपरित अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैर कानूनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानून विपरित भएकाले त्यस्ता क्रियाकलाप नगर्न आग्रह गरेको हो।
यात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ । आत्मियता र सद्भाव फैलाउने गरि पर्वहरुलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि उच्छङ्खल कार्य हुने देखिएमा र भएमा प्रहरीलाई एक सयमा फोन गरेर सघाउन समेत अपिल गरेको छ । यसबर्षको होली पर्व फागुन २२ गते पहाडी क्षेत्र र फागुन २३ गते तराईमा मनाईदै छ ।
काठमाडौँ प्रहरी परिसरको अनुरोध:
होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थ्यकर र मर्यादित तवरले मनाऔं ।
आत्मिय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसंग मात्र होली खेलौं ।
होली पर्वको नाममा उश्रृङ्खल क्रियाकलाप नगरौं । अपरिचित मानिसहरुको समूहमा होली नखेलौं ।
कसैको इच्छा विपरित रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नलगाऔ, नछ्यापौं । छाला तथा आँखामा असर गर्ने केमिकल रगंको प्रयोग नगरौं ।
महङ्गा गरगहना लगाई होली खेल्ने ठाउँमा नजाऔँ । अपरिचित मानिसले दिएको कुनैपनि खानेकुरा नखाऔँ ।
ट्राफिक नियमको पुर्ण रुपले पालना गरौं । आफू बचौँ र अरुलाई पनि बचाऔँ ।
मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऔं ।
अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकलाई कुनै पनि प्रकारका दुर्व्यवहार नगरौं ।
रेलिङ नभएको छत तथा सडकमा होली नखेलौं ।
भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा Snatching जस्ता घटनाहरु हुने सम्भावना बढी हुने हुदाँ सावधान रहनुहोला ।
कुनै पनि अपराधिक गतिविधि हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हट लाईन न. १०० मा फोन गरौं ।
नियम विपरित कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत जानकारी गराउदछौं ।








































