काठमाडौं । राष्ट्रपतिको लागि उम्मेदवारी मनोनयन गर्ने समय केही दिन बाँकी हुँदा काँग्रेस माओवादीसहति यसअघिको पाँच दलीय गठबन्धन व्युँताउने प्रयत्न गरिरहेका छन् ।
आम निर्वाचन अघिका तत्कालीन पाँचदलीय गठबन्धनका दलहरु काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीले आपसमा छलफल गर्दैछन् ।
राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदैछ । तर उक्त निर्वाचनका लागि १३ गतेसम्म उम्मेदवारी मनोनयन गर्नुपर्ने हुन्छ । यो मिति अनुसार आजसहित दलहरुलाई ३ दिन छ । तर हालसम्म दलहरुले राष्ट्रपतिको उम्मेदवार टुङ्ग्याइ सकेका छैनन् ।
राष्ट्रपतिको उम्मेदवार चयन र भावी राजनीतिक सहकार्यका लागि सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रले अन्य तत्कालीन पाँच दलीय गठबन्धनका दलहरुसँग छलफल गर्ने भएको हो ।
आजै माओवादीले कांग्रेस, एकीकृत समाजवादी र जसपासँग छुट्टाछुट्टै छलफल गर्ने र साँझसम्ममा पाँचदलीय गठबन्धनको बैठक बस्ने तयारी भइरहेको बताइएको छ ।
पाँच दलीय गठबन्धनमा बुधबार राति नै प्रारम्भिक सहमति भइसकेको पनि बताइएको थियो । बुधबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र काँग्रेस सभापति देउवाले धुम्बाराहीमा छलफल गरेका थिए ।
त्यसपछि देउवा प्रधानमन्त्री भेट्न वालुवाटार पुगेका थिए । सो भेटमा काँग्रेसलाई राष्ट्रपति दिने र अन्तिम केही समय माधव नेपाललाई सरकारको नेतृत्व दिने विषयमा मोटी सहमति भइसकेको जनाइएको छ ।








































