काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग २ एक दिवसीय त्रिकोणात्मक सीरीजको अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध उत्कृष्ट जीत हासिल गरेको छ ।
मंगलबार खेलिएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको हो ।
आजको खेलमा जीतका हिरो बने २० वर्षीय कप्तान रोहित पौडेल । आजको खेलमा पौडेलले १०१ बलमा अविजित ९१ रनको योगदान दिए । यसक्रममा उनले ७ चौका तथा चार चौका प्रहार गरे । उनको स्ट्राइक रेट ९४.०५ रह्यो ।
यसअघि आजको खेलमा नेपालका स्टार बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै स्कटल्याण्डका चार विकेट लिएका थिए ।
स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका अलराउण्डर करण केसीले पनि उत्कृष्ट योगदान दिए । बलिङतर्फ तीन विकेट लिएका करणले कप्तान पौडेलसंग नवौं विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जीत दिलाउन सफल भए । उनले ३७ बलमा २ चौका तथा एक छक्काको सहयोगले ३१ रन बनाए ।
रोहित र करणबाहेक नेपालका आसिफ शेखले १२, ज्ञानेन्द्र मल्लले २१ तथा कुशल मल्लले १७ रनको योगदान दिए । उनीहरुबाहेक कुशल भुर्तेल १, सन्दीप जोरा १, दिपेन्द्र सिंह ऐरी ७, सोमपाल कामी २ तथा सन्दीप लामिछानेले ९ रनको योगदान दिए ।








































