काठमाडौं ।
यातायात मजदुरहरू र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ।
आज बिहान सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताए।
यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन्। छलफलमा यातायात मजदुरहरुले उपत्यका ट्राफिक प्रहरीको व्यवहारका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको बताए।
आन्दोलनको क्रममा बालाजु माछापोखरी क्षेत्रमा आगजनी र तोडफोडका घटना भएका थिए ।








































