यातायात मजदुर र व्यवसायीयले आन्दोलन स्थगित गर्ने भएका छन् । आज बिहान सिंहदरबारमा भएको सरकारसँगको वार्तामा मंगलबार उपत्यकामा गरिएको यातायात बन्द स्थगित गर्ने सहमति भएको हो ।
यद्यपि यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन् । वार्तामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएका थिए ।
उनले भने, ‘सबैको समस्या एक ठाउँमा राखेर सम्बोधन गर्न हामीले कार्यदल बनाइसकेका छौँ । तत्काल तपाईँहरूले उठाएका जरिवाना तथा लाइसेन्स सस्पेन्सका विषयमा सम्बोधन गर्दै जान्छौँ,’ मन्त्री श्रेष्ठले भने ।
उनले बन्दहड्ताल तत्काल फिर्ता लिइदिन आग्रह गरेका थिए । ‘समस्या समाधान गर्न सरकारले कार्यक्रम बनाइसक्यो। नेतृत्व जतिखेरै छलफल गर्न तयार छ। तपाईंहरूले अहिले नै हड्ताल फिर्ता लिइदिनुस्,’ मन्त्री श्रेष्ठले आग्रह गरे ।
छलफलमा यातायात मजदुरहरूले उपत्यका ट्राफिक प्रहरीको व्यवहारका कारण आफूहरू आन्दोलनमा उत्रिनु परेको बताए । आफूहरूले यातायात क्षेत्र सुधारका लागि सरकारलाई पटक–पटक राखे पनि नसुनिएका कारण यातायात ठप्प पार्नु परेको उनीहरूको तर्क थिय
नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएकोले हड्ताल स्थगित गर्ने निर्णय भएको बताए ।








































