ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुरानो सहमति कार्यान्वयन भए सरकारमा सहभागी हुने भएको छ।
‘केही सहमति भयो भने हामी सरकारमा रिज्वाइन गर्छौं, एक नेताले भने, ‘त्यसबारे छलफल सभापतिले गर्नुहुन्छ।’
सोमबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले उपप्रधानमन्त्री र गृह पाए फेरि सरकारमा सहभागी हुन खुला रहेको निर्णय गरेको एक नेताले बताए।
‘सरकारमा सहभागी हुन हाम्रो पार्टी खुल्ला छ’ ती नेताले नेपालखबरसँग भने, ‘त्यसका लागि कि पुरानो सहमति कार्यान्वयन हुनुपर्यो, नभए नयाँ खालको सहमति हुनुपर्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ।’
नागरिकता प्रकरणले सर्वोच्च अदालतबाट सांसद र उपप्रधान एवं गृहमन्त्री पद गुमाएका सभापति रवि लामिछानेले गैर सांसदकै रुपमा मन्त्री हुन खोजेका थिए। तर, प्रधानमन्त्री तयार नभएपछी रवि सरकार छोडेर बाहिरिएका थिए।
नेताहरूका अनुसार सरकारमा आउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपालाई बढी जोड गरेका छन्। बैठकमा सत्ता साझेदार बैठक, उच्च स्तरीय राजनीति संयन्त्रमा भएको छलफलबारे सभापति लामिछानेले ब्रिफिङ गरेका थिए।
बैठकले चितवन २ मा हुने उपनिर्वाचनमा सभापति लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसका लागि समयमै चुनावको मिति तोकेकोमा स्वागत गरेको छ।








































