गेटा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। सोमबार सो क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्बाट निर्णय गरेसंगै विश्वविद्यालय स्थापना गर्ने प्रक्रिया अगाडि बढिसकेको बताएका हुन्।
‘यसलाई शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय हिजो नै क्याविनेट बैठक राखेर सैद्धान्तिक निर्णय भएको छ,’ उनले भने, ‘अब व्यवहारिक रुपमा यसलाई मेडिकल कलेज चलाउनेतिर पनि तीब्र गतिमा अगाडि जान्छ। विश्वविद्यालय स्थापना प्रक्रिया पनि अगाडि बढिसकेको छ।’ उनले यस क्षेत्रका सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विज्ञ लगायतसंग छलफल गरेर विश्वविद्यालय बनाउने निर्णय भएको बताए।
‘सबैभन्दा खुसीको कुरा के हो भने योपटक मेडिकल कलेज मात्रै होइन्। यसलाई हिजो मात्रै प्रदेशका सबै जसो जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, डाक्टर, विज्ञहरुसंग छलफल गर्दा वहाँहरुको माग यसलाई गेटा मेडिकल कलेजको रुपमा त चलाउनु नै छ। सँगसँगै देशकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा लैजानु पर्यो भन्ने थियो,’ उनले भने ‘यसलाई विश्वविद्यालय बनाउने खुसी र गर्वको कुरा हो। यो सुदूरपश्चिमको मात्रै होइन, यो देशकै निम्ति गर्वको कुरा हो।’








































