काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा जुट्न अनुरोध गरेको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नियमित काममा फर्कन अनुरोध गरेको हो ।
‘स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघले मिति २०७९ साल माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्नका लागि सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी लगाएत सम्बद्ध सबै स्वास्थ्य संघ संस्थाहररूलाई अनुरोध गर्दछौं ।’– मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला चिकित्सकमाथि लाठीचार्जको घटनाको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई प्रहरीले लाठ्ठीचार्ज गरी घाइते बनाएको थियो । संघको केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको आकस्मिक बैठकले आइतबार देशभरका सरकारी तथा गैरसकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानलगायत सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर अगाडि सडकमा भएको घटनाप्रति दुःख व्यक्त समेत गरेको छ । उक्त घटनालाई लिएर नेपाल चिकित्सक संघले जारी गरेको प्रेस विज्ञप्तिप्रति मन्त्रालयको ध्यानाकर्षण भएको सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जनाएका छन् ।








































