काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूहरू सरकारमा अहिल्यै नजाने बताएका छन् । बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार आउनुभएका खनालले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जाने कुरा नभएको बताएका हुन् ।
उनले सरकारलाई आफूहरूले दिएको समर्थन जारी रहने बताए । सरकारले राम्रो काम गरेसम्म आफूहरूको समर्थन रहने उनको भनाइ छ ।
“समर्थन चाहिँ हामीले गरेकै छौँ । समर्थन हाम्रो जारी नै रहन्छ । सरकारले राम्रो काम गरुन्जेल । अथवा नराम्रो काम नगरुन्जेल । नराम्रो काम नगरुन्जेल हाम्रो समर्थन रहन्छ । तर अहिले सरकारमा जानेकुरा हाम्रो त्यस्तो केही छैन,” खनालले भने ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)लाई सरकारका आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।








































