काठमाडौं । बेलायतका संसदीय सहायक विदेश मन्त्री डा. एण्ड्रयु मुरिसन मंगलवार बेलुकी काठमाडौं आइपुग्दै छन् । यो भ्रमणलाई सरकारले अनौपचारिक भ्रमणको रुपमा राखेता पनि उनले नेपालमा रहँदा महत्वपूर्ण भेटघाट गर्ने थाहा भएको छ ।
पोखरामा रहेको ब्रिटिश क्याम्पमा बेलायती सेनामा भर्ती हुने नेपाली क्याडेटहरूलाई अनुमोदन गर्ने समारोहमा भाग लिन आएका मुरिशनले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्र मन्त्री बिमला राई पौडेल तथा रक्षा मन्त्री हरि प्रसाद उप्रेतीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
६१ वर्षीय बेलायतका कन्जरभेटिभ दलबाट संसदमा प्रतिनिधित्व गर्ने डा. मुरिशनले सहायक विदेश मन्त्रीको रुपमा रक्षा, पूर्व सुरक्षाकर्मी तथा पारिवारिक मामला हेर्छन् । यसअघि पनि बेलायत सरकारमा विभिन्न पदहरूमा सेवा गरेका डा. मुुरिशन अन्तर्राष्ट्रिय सुरक्षा रणनीति मामलाका मन्त्री तथा नर्थन आयरल्याण्ड मामलाका राज्यमन्त्री रहिसकेका छन् ।
अर्का पूर्व विदेशमन्त्री लर्ड ल्याङ्क्यास्टर पनि डा. मुरिशनको भ्रमण दलमा सम्मिलित छन् ।
केही दिन पहिले बेलायती सेनाका रथी जनरल रिचर्ड वार्ड ल पनि नेपाल भ्रमणमै रहेका छन् । उनले राष्ट्रपति विद्या देवी भण्डारीसँग भेट गरिसकेका छन् ।
बेलायत सरकारका उच्च स्तरीय भ्रमणले नेपालमा पश्चिमा शक्तिले विशेष चासो देखाएको प्रष्ट हुने एक सम्बद्ध स्रोतले बताएको छ ।
बाह्रखरी








































