‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ । त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दैछु । म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरून्, सुनून् । मैले सिधाकुरा नगरेको धेरै भएछ’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार १० बजेर ५० मिनेटमा फेसबुकमा लेखेको स्ट्याटस हो ।
पूर्वपत्रकार उनले राजनीतिमा प्रवेशअघि ‘सिधा कुरा जनतासँग’ या त्यही नामको परिमार्जित संस्करण सिधा कुरा विथ रवि लामिछाने’ सञ्चालन गरेका थिए । जुन कार्यक्रमबाट उनकै भाषामा ‘सिधा कुरा’ गरेर लोकप्रियता हाँसिल गरेका थिए। आवाजविहीनहरुको आवाज बनेर लोकप्रियता हासिल गरेका उनी सोही लोकप्रियतालाई ‘क्यास गर्न’ राजनीतिमा हामफालेका थिए ।
उनै रवि लामिछाने आफ्नो पूर्वजानकारी अनुसार दिउँसो ४ बजेतिर पत्रकार सम्मेलनमा उपस्थित भए, अर्थात उनकै भाषामा ‘सिधा कुरा’ सुनाउन ।
साढे एक घण्टा लामो पत्रकार सम्मेलनमा सुरुमा उनले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको तर, सरकारलाई दिँदै आएको समर्थन भने कायमै राखेको जानकारी दिए ।
त्यसपछि भने उनी सम्हालिन सकेनन् । उनले कतिपय नेताहरुदेखि विशेषगरी सञ्चारमाध्यममाथि कडा प्रहार गरे । उनले दिएका कतिपय अभिव्यक्ति धम्कीपूर्ण सुनिन्थे भने कतिपय अभिव्यक्ति सत्ता गुमाउन पर्दाको पीडा पनि झल्किन्थ्यो । जुन कुरा उनी आफैले पनि स्वीकार गरेका छन् ।
उनले आफूले झुटो नबोल्ने उल्लेख गर्दै मन्त्री पद जाँदा अलिअलि झोँक चलेको स्वीकार गरे । ‘मन्त्री पद गएको झोँकमा यो झोक्किएछ भन्ने तपाईँलाई होला हैन ? अलिअलि हो’, उनले भने, ‘किन झुट बोल्ने ? अलिअलि त हो नि रिस उठिहाल्छ नि ! उपप्रधानमन्त्री, गृहमन्त्री सबै गएको छ भने होइन भनेर त्यस्तो नाटक मैले गर्न सक्दिनँ ।’
उनले आफ्नो फेसबुकको बायो समेत मान्छे भन्ने राखेको उल्लेख गर्दै त्यतिसम्म त देलान् नि भनेर सो निर्णय लिएको बताए । उनले आफ्नो बारेमा प्रमाणसहित लेख्न आग्रह गर्दै प्रमाणसहित लेखिएको कुराको स्वीकार गर्ने बताए ।
विशेषगरी रविले मूलधारका मिडियाको नामै किटेर आलोचना गरे । उनले मिडियाका मालिक र सम्पादकलाई देश चलाउने भए आफूसँग चुनाव लड्न आउन चुनौती समेत दिए । आफूलाई ठुला मिडियाहरुले घेराबन्दी गरेर सिध्याउन खोजेको जिकिर गर्दै लामिछानेले मिडियाका १२ सम्पादकहरू मिलेर देश चलाउन खोजेको आरोप लगाए । उनी यतिमामात्रै रोकिएनन्, आफ्नो विरुद्धमा प्रमाणबिना लेखिए मिडिया हाउस घेर्न आउन धम्की दिए ।
यद्यपि उनले आफ्ना केही कमजोरी पनि स्वीकारेका थिए । दोहोरो राहदानी लिएको तर दोहोरो नागरिकता नलिएको उनको भनाइ छ । रविको पत्रकार सम्मेलनपछि उनको अभिव्यक्तिलाई लिएर विभिन्न कोणमा टिकाटिप्पणी भइरहेको छ । कतिपयले मिडिया क्षेत्र र राजनीतिमा भएका बेथितिका विरुद्ध रविले प्रहार गरेको बताइरहँदा कतिपयले चाहिँ उनले तल्लोस्तरको टिप्पणी गरेको भनेर आलोचना गरिरहेका छन् ।
यहीबीचमा नेपाल पत्रकार महासंघले रविको अभिव्यक्तिको आलोचना गरेको छ । आइतबार विज्ञप्ति जारी गरेको महासंघले लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएको ठहर गरेको छ । लामिछानेले धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको महासंघको भनाइ छ ।
संसदको चौथो ठुलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चारक्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।
लोकान्तरमा प्रकाशित समाचार








































